दफा ३४
बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिन सक्ने
(१) दफा ३३ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न कागजात वा विवरणहरुको जाँचबुझ गर्दा यस ऐन बमोजिम बैकिङ्ग तथा वित्तीय कारोबार गर्न सबै आधार पुगेको पाएमा राष्ट्र बैंकले निवेदन प्राप्त भएको एक सय बीस दिनभित्र त्यस्तो बैंक वा वित्तीय संस्थालाई दफा ३७ बमोजिमको बैंक वा वित्तीय संस्थाको वर्गीकरणको आधारमा बैकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न कुनै एक वर्गको इजाजतपत्र दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम इजाजतपत्र दिनु अघि राष्ट्र बैंकले देहायका कुराहरुको यकिन गर्नु पर्नेछः– (क) बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र दिँदा स्वस्थ प्रतिस्पर्धात्मक र वित्तीय मध्यस्थता सम्बन्धी कारोबार प्रभावकारी भई निक्षेपकर्ताको हित हुने, (ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा दिइएको आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न सक्षम रहेको, (ग) दफा ३३ बमोजिम इजाजतपत्रको लागि दिएको निवेदन साथ संलग्न विवरण तथा कागजात पूर्ण रहेको तथा पर्याप्त भौतिक पूर्वाधार भएको, (घ) बैंक वा वित्तीय संस्थामा नियुक्त वा संलग्न भएको वा नियुक्त गरिने वा संलग्न हुने कुनै पनि पदाधिकारी बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न सक्षम रहेको । (३) राष्ट्र बैंकले बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्ने इजाजतपत्र दिँदा इजाजतपत्र लागू हुने मिति तोकेकोमा सोही मितिबाट र त्यस्तो मिति नतोकेकोमा इजाजतपत्र जारी भएको मितिबाट त्यस्तो इजाजतपत्र प्रारम्भ भएको मानिनेछ ।